नइ प्रकाशन Nai Prakashan
»  नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।   

भरतराज पन्त Bharat Raj Panta

कमल दीक्षितले लेखेका थिए 'भरतराज पन्तको हृदय सफा थियो । मनमा एउटा कुरा, मुखमा अर्को कुरा गर्ने उनको बानी थिएन । त्यसैले होला उनले एकपटक मलाई, 'पेटमा एउटा कुरो मुखमा अर्को कुरो राख्न कपटी भनी छाँसेका थिए ।' 
पन्त खरो हुने ठाँउमा खरो थिए र नरम हुने ठाँउमा नरम थिए । उनी छिटै रिसाउँथे र छिटै खुसाउँथे, उनी न्याय पनि गर्थे र अन्याय पनि खप्न सक्तैन थिए । उनी जस्तो लेख्थे त्यस्तै बोल्थे । त्यसैले नेपाली काव्य फाँटमा उनले शिर्षस्थ आसन जमाएका थिए । वास्तवमा उनी यस फाँटका अद्वितीय नै थिए । उनी जे देख्थे त्यही लेख्थे । लेख्तालेख्तै उनी आफ्नो मनको चुर्ना झारेरै लेख्थेः
जालीको करङै भाँच
लोभीको रगतै झिक
असत्तीलाई सुलैले रोपेर
गरिदेउ ठिक ।
पन्त आफ्नो बुतामा हिंड्थे । उनी मरुन्जेल काम गर्थे र समय उवारेर पढ्थे । नयनराज पाण्डेले उनलाई संस्कृत छात्रावासमा भर्ना गरिदिए । भर्नाका क्रममा पाण्डेले ठाकुरदत्त पन्तलाई भरतराज पन्तमा रुपान्तरित गरिदिए । त्यसपछि पन्तले पर्ढाईमा खुबै मन दिए । अनि अनेक दुक्खकष्टको माझ पनि उनले आचार्य गरे ।
पन्तले वेदवेदाड्ग विद्यालयमा पढाए । उनी नेपाल राष्ट्रिय विद्यापीठ र नारी विद्या पीठमा पनि प्रधानाध्यापक थिए । उनले शान्ति विद्यागृह हाइस्कूलमा पनि शिक्षण गरे । साथै उनलाई सरस्वती कलेजका संस्थापक तथा प्रिन्सिपल शड्करराज पाठकले सो कलेजको प्राध्यापनमा पनि आबद्ध गराए । २०१५ सालदेखि नोकरी सुरु गरेका पन्त संस्कृत छात्रावासमा २०३० सालसम्म खरदार स्तरको शिक्षकमा कार्यरत थिए । नयाँ शिक्षा लागु भएपछि सरस्वती कलेज क्याम्पसमा परिणत भयो र उनी ठाडै उपप्राध्यापक बने । उनले संस्कृत छात्रावासबाट राजीनामा गरे । अनि उनले ४७ बर्षकोउमेरमा एम्एको परीक्षा दिए र पास पनि गरे । त्यसपछि उनी त्यस क्याम्समा सहप्राध्यापक भए । 
पन्त लेखनमा पनि घोटिई रहे । २०१२ सालमा सरस्वती सदनमा भएको कविता प्रतियोगितामा तेस्रो भएर उनी कविभूषण भए । त्यसबेला बालकृष्ण समले प्रसंशाको बक्तव्यका साथ उनलाई सो पदक लगाई दिए ।सोही समारोहमा लक्ष्मीप्रसाद देवकोटाले उनलाई 'बाबूले राम्रो कविता लेख्नु भयो' भनेका थिए । वास्तवमा सम र देवकोटाको उनीप्रतिको सम्वादपछि उनको साहित्यिक यात्रा फक्रन थाल्यो । उनले साहित्यमा समर्पित भए वापत आदिकवि भानुभक्त पुरस्कार, मुक्ति पुरस्कार, भूपाल पुरस्कार, रुद्रराज पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार पाए । साथै उनले अन्य सम्मान, अभिनन्दन र प्रशंसापत्रहरु पनि एक डोको पाए । अनि तक्माको हकमा चाहिं यिनले प्रवल गोर्खादक्षिण बाहु, गद्धी आरोहण रजतपदक र वीरेन्द्र ऐर्श्र्य सेवापदक पाएका थिए ।
नेपाली भाषासाहित्यमा सुविख्यात पन्त नेपाली कविताको वाणिर्क परम्पराका सिद्धहस्त कवि थिए । उनी गीत, कविता, निबन्ध, प्रबन्ध, कथा र समालोचनाका प्रखर स्रष्टा थिए । उनले खण्डकाव्य र महाकाव्य लेखेर आफ्नो नाउँलाई नेपाली कविताको शिर्षस्थानमा पुर्याए । यसैमाझ उनका जम्मा २३ वटा कृति प्रकाशनमा आए ।
पन्तको जन्म १९८६ साल असार ३० गते काठमाडौंमा भएको थियो । उनी मणिदत्त पन्त र ललितादेवीका छोरा थिए । उनी जन्मेको तीन वर्षा नै उनकी आमा स्वर्गीय भइन् । अर्को वर्षनेपालमा महाभूकम्पमा परेर उनको घर नै भत्कियो । तर उनका बुवाले केही वर्षउनलाई त्यही भत्केको घरको छिंडीको कुनामा राखेर हर्काएका थिए ।
पन्तको पन्ध्र वर्ष पुग्दानपुग्दै गोपालराज पाण्डे र पूर्र्णोन्दूप्रियाकी छोरी चित्रकुमारी पाण्डेसँग विवाह भयो । यिनको बिहेको भोलिपल्ट नै यिनका बुवालाई हटात ज्वरो आयो र त्यसको छ दिनमा उनी स्वर्गीय भए । त्यसपछि पन्तको अत्यन्तै दुक्खको दिनचर्या आरम्भ भयो । एकातिर पतिपत्नी माझ दिनहुँको कलह र अर्को तिर दुखद आर्थिक अवस्थाले डाम्न थालेपछि उनी विछिप्त हुँदै गए ।
पन्तकी श्रीमती रूपकी राम्री थिइँन् र उनी तरुनी पनि हुँदै आइन् । त्यसैले उनको श्रीमतीप्रतिको प्रेम, वासना र कामुकता पनि बढ्दै गयो । तर बराबर लोग्नेस्वास्नीको झैंझगडाले त्याहाँ आगो बलिरहने पनि गथ्र्यो । अनि अनमेलमा नै भए तापनि यी दम्पतिबाट दिनेश र रमेश अनि कल्पना र मुना गरी ४ जना छोराछोरी जन्मे । त्यसपछि आर्थिक अवस्थाले त्यो परिवार झनसारो मरणसन्नै भयो । त्यही तापसमेत जोडिएपछि उनकी पत्नी झनै झोक्राउन थालिन्, अर्ध चेतनामा बोल्न थालिन र लोग्नेको वदनाममा टोलछिमेक थर्काउन थालिन् । अन्ततः उनी विछिप्तमा नै रित्तिइन् ।
दयनीय आर्थिक अवस्थाले पन्तको मन चकानाचुर थियो । त्यस घडी कहींकतै पुराण वाचन गर्न बोलाए भने उनी दङ्ग पर्दै त्यता हानिन्थे । पूजा पुराणबाट प्राप्त आम्दानीबाट पनि उनी घर चलाउँथे । तर पनि घरको भत्केको चालाका कारण यता टाल्यो उत फाट्ने क्रमले उनी घरिघरि भौंतारिने गर्थेे । वास्तवमा त्यसबेला उनको घर एक प्रकारको दर्रि्री अवस्थामा आइपुगेको थियो । त्यसैताक त्यसै परिवेशले आत्तिएर उनको जेठा छोरा प्रायः मातेर हिंड्न थालेका थिए । धेरै बर्षम्मको यस रीतमा कुण्ठित भएर २४ वर्षीय उनको छोराले विष खाएरै भूगोलबाट आफूलाई हुत्याइदिए । यस बेहोराले पन्त मर्दै बाँच्तै गरे । यतिहुँदाहुँदै पनि उनलाई उनका कान्छो छोराको आड र भरोसा थियो । उनका कान्छो छोराले चाहिं एउटा थोत्रो घरलाई नयाँ पार्ने कसरत गरिरहेका थिए । उनी सरकारी जागिरदार भएकाले प्रायः देशविदेशको भ्रमणमा पनि गइबस्थे । तर पन्त त्यस छोराको पौरख खानबाट पनि एकाएक तैरिए । भनौं जेठा छोरा ंहिडेको वीस वर्षछि उनका कान्छा छोराले पनि पोखराको डेबिट फल्समा प्राण त्यागे । त्यसपछि उनी झनै आक्रान्त भए र उनले सुक्खको सास त्यति सारो फेर्न नै सकेनन् ।
पन्त आँसुकवि थिए । उनी बोल्दा पनि प्रायः कविता नै बोल्थे । अनि बोल्दाबोल्दै उनी थला परे । लामो समयसम्म थलिएपछि उनले २०६५ साल वैशाख १८ गते आफ्नो चोला विसाए । त्यतिबेला यिनका शत्रुमित्रुमध्ये धेरैले उनीप्रतिको कृतिम र मौलिक वेदना पनि पोखे । अनि त्यसबेला पनि यिनका कविता चाहिं बोलिरहेका थिएः
फूलमाला सजाएर
सिंगारे पनि के भयो ?
लाठीमुड्ग्री बजारेर
बिगारे पनि के भयो ?
पञ्चामृत चढाएर
फुर्क्याए पनि के भयो ?
कुनै कुकुर आएर
तुर्क्याए पनि के भयो ?