नइ प्रकाशन Nai Prakashan
»  नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।   

भीमनीधि तिवारी Bhim Nidhi Tiwari

भीमनिधि तिवारी नसुन्ने नेपाली छैनन् । संसारभरि जहाँजहाँ नेपाली भाषासाहित्य पढिन्छ त्यतात्यता तिवारी पुगे । उनको योगदानको सुभासमात्र देशदेशान्तरमा पुगेन; व्यवहारिक ज्ञान, सिद्धान्त र सीपले नै नेपाली भाषीहरूलाई रङ्गाई दियो । उदाहरणका लागि भन्ने हो भने धेरैपल्ट दार्जीलिङगेहरूले यिनको गीत गाए । त्यही सन्दर्भमा नेपाली साहित्यका महारथी भारत दार्जीलिङका पारसमणि प्रधानले घरिघरि यिनको महिमाको चर्चा गरिरहे, 'तिवारी साहित्य हामीले दार्जीलिङतिर प्रचार गर्न नपाएको भए आज दार्जीलिङको साहित्यसम्बन्धी जतिको मान र मर्यादा छ त्यो हुने थिएन ।'
तिवारी नेपाली भाषासाहित्यका ती महापुरुष हुन् जसको भूमिका समेत जोडिएर आजको नेपाली भाषासाहित्यले यहाँसम्म फट्का हान्ने भूमिका खेलेको छ । लेखनका क्रममा उनले गजल लेखे, कविता लेखे, एकाङ्की र पूर्णाङ्की नाटक लेखे, निबन्ध र प्रबन्ध लेखे, कथा र कहानी लेखे, भजन र गीत लेखे अनि हास्यव्यङ्ग्य र उपन्यास पनि लेखे । उनले जति लेखे सबैमा ख्याति कमाए । उनको योगदानले नेपाली भाषाको श्रीवृद्धिका लागि राम्राराम्रा इँटा थप्यो । उनले विविध विधाका सयौँ फुटकर रचनाहरूको निर्माण गरे भने कृतिगत रूपमा उनका पचास वटाभन्दा बढी पुस्तक प्रकाशित भइसके । उनी लेखेर कहिले थाक्तैन थिए । वास्तवमा उनी लेखनका सप्तकोशी नै थिए र जति बगे पनि उनी सुस्ताउँदैन थिए । त्यही बगाइकै प्रतिविम्बमा उनले वेञ्जु र मञ्जु पनि जन्माए । नेपाली भाषासाहित्यमा वेञ्जु र मञ्जुले पनि आफ्नो बेग्लाबेग्लै शिखर चुमे । साथै सन्तान जन्माउने क्रममा उनले छोरी अञ्जु र छोराहरू निरञ्जन र निकुञ्ज पनि जन्माए ।
तिवारी नेपाली भाषा, नेपाली भेष र नेपाली संस्कृतिप्रति मरिमेट्थे । उनको हृदयमा पहिलो नेपालै थियो, दोस्रो पनि उनी नेपालप्रति नै समर्पित थिए र तेस्रोमा पनि उनी नेपालकै राष्ट्रभाषाको श्रीवृद्धिका लागि जागरुक थिए । उनी यी तीनै कुरामा एकोहोरो भैरहेका बेला उनलाई एङ्ग्रोउल साइरिष्ट रोगले छोप्यो । त्यही रोगले उनको जीवनलीला चुडाएर लाग्यो अन्ततः २०३० साल जेठ १९ गते आर्यघाटमा उनले आफ्नो भौतिक चोला बिसाए ।
तिवारीको जन्म १९६८ साल फागुन मसान्तमा काठमाडौँको डिल्लीबजारमा भएको थियो । उनी बाल्यकाल हुँदै उनकी आमा नन्दकुमारी स्वर्गीय भइन् । त्यसैले उनका बुबा लालनिधि तिवारीबाटै उनको संरक्षण भएको थियो ।
तिवारीले तत्कालीन समयको तीन पास गरेका थिए । उनले आफ्नी जेठी छोरी बेञ्जुलाई पढाउने क्रममा आफूले पनि सँगसँगै आईए पास गरेका थिए । त्यसबेला आईएको परीक्षामा नेपाली विषयमा भीमनिधि निवारीबारेकै तीन प्रश्न सोधिएको थियो । तर उनकी छोरीले त्यसै प्रश्नको उत्तर दिएर आफ्नो बुबाभन्दा १२ नम्बर बढी अङ्क ल्याएकी थिइन् । त्यसपछि उनका छोरीहरू बेञ्जु र मञ्जुले एमए पनि सके । अनि बेञ्जु त पीएचडी नै पनि भइन् । तर भीमनिधि तिवारी आईएमा नै थन्केका थिए ।
तिवारी चुप लागेर बस्तैन थिए । उनी आफ्ना घरमा परिआउँदा कहिले सिकर्मी पनि हुन्थे र कहिले डकर्मी पनि हुन्थे । केही काम पाएनन् भने उनी चित्र कोरेर पनि बस्थे । उनी फूलका सौखिन थिए । साथै उनको मन पर्ने विषय सङ्गीत थियो । उनी शास्त्रीय सङ्गीतमा पारङ्गत पनि थिए । उनी भन्थे 'मैले साहित्यमा जति समय दिएँ सङ्गीतमा पनि मेरो त्यति ने समय भुक्तान भयो ।' तर सङ्गीगतमा भएको उनको योगदान जनमाझ खुल्न सकेन।
तिवारीले नेपालका प्रायः धेरै जिल्ला डुले । साथै उनले भारत, रुस, निदरल्यान्ड, पाकिस्तान, प|mान्स, जर्मनी आदिको भ्रमण गरे । उनी जहाँजहाँ जान्थे नेपाली स्वरूपमा नै पुग्थे । साथै विदेशी मित्रहरूलाई उनी नेपालीपनको व्याख्या गर्न पनि उद्यत रहन्थे ।
तिवारी जुवातास, जाँडरक्सी र चुरोटबिडीका विरोधी थिए । उनी जनसेवामा रुचि राख्थे । साहित्यचाहिँ उनको एडिक्सन थियो । जनशिक्षाका लागि पनि उनी मरिमेट्थे । राणाकालीन युगमा नै उनले स्कुल खोलेरै चलाएका थिए । साथै त्यसैबेला उनले प्रेसको व्यवसाय पनि गरे । त्यस प्रेसको नाउँ 'नेपाली साहित्य प्रेस' थियो । उनैको नेतृत्वमा नेपाल नाटक सङ्घको पनि स्थापना भएको थियो । त्यस संस्थाबाट पनि उनले जनचेतना जगाउने काम गरे
तिवारी पनि महाकवि देवकोटाझैँ नेपाली भाषानुवाद परिषद्मा जागीरे थिए । साथै उनी नेपाली भाषा प्रकाशिनी समितिका पनि मास्टर पदमा आसिन भए । उनी पछि सोही समितिको अध्यक्ष पनि भए ।
तिवारीले नेपाल सरकारमा रहेर ३२ वर्ष काम गरे । उनी जागीर छुट्ता उपसचिव थिए । त्यस बीचमा उनी शाखाअधिकृत र शिक्षा मन्त्रालयको रजिष्टार पनि भए । जागीरके सिलसिलामा उनी टेक्साइल विशेषज्ञ पनि भए ।
तिवारीलाई 'यशस्वी सव' लेखेबापत मन्त्रीमण्डलको निर्णयलेनगद पुरस्कार प्रदान गरिएको थियो । साथै उनलाई नेपाल सरकारबाट 'शिलान्यास' र 'माटोको माया' नाटकका लागि नगद पुरस्कार प्रदान गरिएको थियो । अनि उनले 'विस्फोट' कवितासङ्ग्रहका लागि मदन पुरस्कार पनि पाए । पर्द्यतर्फको पहिलो मदन पुरस्कार पाउने तिवारी नै थिए ।
तिवारीले प्रख्यात त्रिशक्तिपट्ट, प्रबल गोर्खादक्षिण बाहुलगायत अनगिन्ति सरकारी अलङ्कारहरू पनि भीरे । त्यति मात्र होइन निदरल्याण्डकी महारानीले उनलाई विदेशीलाई प्रदान गरिने सर्वोच्च विभूषण पनि आफ्नै हातले लगाइ दिइन् ।
तिवारीको गङ्गादत्त पाठक र वसन्तकुमारी पाठककी जेठी छोरी भुवनेश्वरीसँग विहे भयो । भुवनेश्वरी कलाकार पनि थिइन् । उनको नाउँ चित्रकलामा प्रख्यात मानिन्थ्यो । उनले जनक शिक्षा सामाग्री केन्द्रमा पनि कलाकारको जागिर खाइन् र महेन्द्र भवन स्कुलमा पनि चित्रकला पढाइन् । मुहार अङ्कित चित्र वनाउने क्रममा उनले आफ्ना पतिका चित्रहरू पनि बनाएकी थिइन् ।
भीमनिधि तिवारी जति बाँचे नेपाली वाङ्मयमा लडीबुडी खेलेरै बाँचे । अनि उनकी पत्नी भुवनेश्वरीले आफ्ना छोरीहरूको सहयोगमा तिवारी साहित्य समितिलाई देशदेशान्तरमा पुयार्उने काम गरिरहिन् । अनि यो संस्था चाहिं भमिनिधितिवारीकै रोहबरमा २०२० सालमा खोलिएको थियो ।