नइ प्रकाशन Nai Prakashan
»  नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।   

छविलाल पोखरेल Chabi Lal Pokhrel

हिउँदको चिसो ओस थियो । धनकुटाको कचिन्डेमा बरु कलिलै भए पनि घाम लागेथ्यो । बिहानदेखि प्रायः मान्छेहरू घाम ताप्न आआफ्ना घरबाहिर उभिएका थिए । यस्तै बेलामा गाउँका आइमाईहरू बीच गाइँगुइँ हल्ला चल्यो । कोही ख्यालठट्टा गर्थे अनि कतै कचहरी चल्थ्यो । कोही छोरो नै जन्मन्छ भन्थे र केही छोरी जन्मिन्छ भन्थे । यसबारे कोहीकोहीले त बाजी पनि मारे । यो कौतूहलको दिन ५ मङ्सीर, १९६२ सालको थियो ।
वेधनिधि पोखरेल आफ्नी धर्मपत्नीको पिंडा सुनेर पिंढीमा छटपटाएका छटपटायै थिए । त्यसै बेला घरभित्र अरुन्धतीले अकस्मात् एउटा सङ्गीत सुनिन् । सुरिलो र सुमधुर सङ्गीतसँग उनले केही कष्टका आँसु पनि झारिन् ।
छविलाल पोखरेल जन्मँदै मुखमा राँको बोकेर आएका थिए । युवा अवस्थादेखि नै पोखरेलले आफ्ना शरीरमा क्रान्ति रोपेका थिए । त्यसैले यी पर्वाञ्चलका भरोसा थिए र खास गरेर हिन्दूसंस्कृतिका आस्था थिए । यिनले धेरै उदाहरणीय काम पनि गरे । उनी सानैदेखि उपकारी थिए र धार्मिक पनि प्रकाण्ड थिए । यी इमान्दार र नैतिक थिए अनि शिक्षा दिने प्रखर गुरुबाबु थिए । त्यतिमात्र होइन उनी सभ्यता सिकाउने सडक पनि थिए र जनचेतना जगाउने मार्ग पनि थिए ।
पोखरेल नेपाली साहित्यमा पनि चम्के । यिनले अनेक विधामा हात हाले । यिनले धेरे नै लेखरचना लेखे । अनि यिनीद्वारा लिखित डेड दर्जन किताव प्रकाशित भए । यी भाषण गर्न र पुराण भन्न पनि सिपालु थिए ।
पोखरेल आफू जति जान्दथे अरूलाई त्यति नै सिकाउँथे । यिनले अनौपचारिक रूपमा निक्कै अघिदेखि गाउँलेलाई पढाए । तर औपचारिक रूपमा भने सम्वत् १९९१ सालदेखि यी शिक्षाविकासमा लागे । 
पोखरेल सानैदेखि गाउँ डुल्थे, शिक्षाको प्रचार गर्थे र गरिबको आँतमा घाम लाइदिन्थे । धनीका छोरा नपढाउँदा मुख फोर्थे, धूले स्कूलमा पढाउन केटाहरू सार्थे र टुहुराको बढी सुसार गर्थे । निमुखा बच्चालाई यी आफ्नै घर पनि लान्थे । अनि तिनीहरुलाई पनि पाठशाला पठाउँथे । सर्वहारालाई देखेपछि त उनी बाटैबाट टिप्थे ।
पोखरेलले मान्छेको सेवा गरे । चाहे त्यो अछूत किन नहोस्, उसैको भर गरे । जात हेरेर होइन, रगत हेरेर यिनले मान्छेको काम गरे । धेरैलाई यिनले वृत्ति दिए र कैयौंको विश्वास थुपारे ।
पोखरेलले बौदिक समुदायका सेतामगुरालीको पनि जयजयकार गरे । उनीहरुलाई पनि क्षत्रीबाहुन सरह यिनले वैदिकमन्त्र सिकाउँथे । अनि योभन्दा ठुलो कुरा यिनले दलितलाई भर दिए । वास्तवमा अछूतलाई समाजको र्सार्वजनिक बाटोमा हिँडाउने यी आँटी योद्धा थिए । हीरालाल विश्वकर्मा र टीआर विश्वकर्मालाई पाठशालामा भर्ना गर्ने पनि यिनै थिए । यिनले अछूतलाई सिङ्गो संसार चिनाइदिए र राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने ढोका खुलाइदिए । साँच्चै हो, दलितहरूका लागि यी र्सवस्व थिए ।
पोखरेल नीतिशास्त्रको पक्का थिए । यी सच्चा व्यक्तिको मात्र प्रशंसा गर्थे । प्रा.अम्बिकाप्रसाद अधिकारीका अनुसार 'पण्डित छविलाल पोखरेल समाजको हित गर्नेसँग घाँटी जोड्थे, संस्कृतका पण्डितका अर्चना गर्थे र शास्त्रका आधारमा समाजको हित गर्थे ।'
पोखरेलले आठ वर्षा बिहे गरे । यिनले राम्रो घरजम गरे र छोरैछोरा जन्माए । यिनले छ भाइ छोरालाई विश्वविद्यालयसम्म पढाए । तर यिनको घर बत्ती मुनी उज्यालो हुन सकेन । यसै प्रसङ्गमा वासुदेव लुइँटेलले पनि मनबाटै भने 'छविलालले जे चाहे सबै पाए तर गतिला छोरा पाएनन् ।'
धनकुटामा नै पोखरेलले प्रारम्भिक शिक्षा लिए र संस्कृतको साधारण ज्ञान लिए । अनि यी बनारसतिर लागे । साडे बाह्र वर्षयी त्यहीँ हराए र अन्ततः संस्कृतका आचार्य बने । अनि यिनले हजारौंलाई त्यही संस्कृत पढाए ।
पोखरेलले धनकुटामा पाठशालाहरु खोल्न कम्मरमा पटुका कसे । यिनको त्याग देखेर कप्तान निशेपसिंह थापाले पनि यीसँगै लागेर सेवा गर्न दिल खोले । क्रमशः दीर्घराज कोइराला, महानन्द सापकोटा र माधवप्रसाद काफ्लेले शिक्षाक्षेत्रमा आआफ्नो सीप दिन छविलाललाई समाए । सक्रिय तीन भाइ युवा र थापाको प्रत्यक्ष र्समर्थनले त्यसभेकमा थप राम्रो काम हुन थाल्यो । पछि यिनले मातृकाप्रसाद कोइराला र भूपालमानसिंह कार्कीको पनि प्रशस्तै सहयोग पाए ।
धनकुटमा जति विद्यालय खुले प्रायः पोख्रेलकै पहलमा खुले । उनको नेतृत्वमा त्यस ठाउँमा झन्नै एक दर्जन स्कुल स्थापित भए । यी कस्ता थिए भने गाउँका केटाकेटी भेला पार्थे, पढ्छु भन्नेलाई पढाउँथे र नपढ्नेलाई पनि प्रलोभन देखाई पढाइ दिन्थे । सुरुसुरुमा कतिसम्म भयो भने पोख्रेल स्कूल खोल्थे अनि राणाका चम्चाले यिनले खोजेर ल्याएका गुरु खेदाउँथे र स्कुल बन्द पनि गराउँथे । त्यसताका शारदाशमशेर र सोमशमशेरले पण्डित पोखरेललाई हैरान पारे । केही दिन यी राणादेखि पनि हारे । त्यही पिंढामा जाक्किएर रातिराति सङ्गठन गर्दै यी चैनपुरसम्म पुगे । अनि त्यहाँ पनि पुगेर यिनले पाठशाला नै खोले । त्यहाँ यिनले महानन्द सापकोटालाई प्रधान अध्यापक बनाए ।
 मन परेका कुरालाई प्रस्ट र्समर्थन गर्थे र मन नपरेका कुराको खुल्ला विरोध गर्थे । गान्धीवादी विचारधाराका हिमायती यी हिंसाका परम विरोधी थिए । त्यतिमात्र होइन, लेखाइमा दूधको दूध पानीको पानी छुटयाउने सामर्थ्य यिनमा थियो । हिन्दधर्मदर्शनबारेका यी खरो आलोचक पनि थिए ।
पोखरेल युवा अवस्थादेखि नै प्रस्ट थिए इमान्दारिताका लागि पोख्त थिए । यी खुबै प्रजातान्त्रिक थिए । अनि यी न्यायनिसाफ छिन्न सक्ने गतिलो युवक थिए । सात सालमा यिनले राष्ट्रमा न्यायविरुद्ध काम भएको देखे । यसको सामना गर्न यिनले पनि हतियारझिके र काँधमा जोरनाले बन्दूक नै भिरे । जव देशमा शान्त वातावरण छायो तब यिनले पनि हातहतियार लुकाए ।
महात्मा गान्धीका पुस्तक र लेख पोखरेलका गुरु थिए । मदनमोहन मालवीयका भाषणबाट यी आफै जोशिन्थे । अनि समाजसेवामा काम लाग्ने भाषण मात्र यी सङ्ग्रह गर्थे । दुईसालदेखि नै यी समाजसेवामा सक्रिय भएर लागे र अप्ठयारा अनि राणाको कानूनविरोधी काम गर्न यी रातोदिन खटे । यी बाँचेका अशक्तको सेवामा लागे र मरेका मान्छेको लाश उठाउने काममा पनि लागे । साथै यी बेवारिसे लाशहरूको दाहसंस्कार गर्ने व्यवस्थामा पनि त्यतिकै समर्पित भएरै लागे ।
यति मात्र हैन, पोखरेलले सुरुदेखि जुवाको विरोध गरे । साथै यिनैले मादकपदार्थको विरुद्ध आन्दोलन ल्याए । अनि यिनले धुम्रपानबाट हुने खराबीबारे प्रचार गरे । समाजमा अहित हुने सारा कुराको यिनले सक्तो विरोध गरे ।
पण्डित पोखरेलले नारीहरूको पनि व्रतबन्ध गरे । यी सबैलाई चोखो हुनपर्छ भन्थे । यी आफू चोखो भएर नमुना पनि देखाउँथे । एक पटक यी विराटनगरको बाजेको होटलमा पुगे । त्यहाँ जुत्ता फुकाएर धोती फेरेरै यिनले भात खाए ।यिनको त्यो चालामालाबाट अरु पण्डितहरुले चित खाए । वास्तवमा यिनले समय सर्न्दर्भको सदुपयोग गर्न जानेका थिए । 
पण्डित छविलाल पोखरेलले जे गरे, धेरै गरे । यिनले नेपालको पूर्वाञ्चलमा आशाको समुद्र कुदाइदिए, भरोसाको राजमार्ग खनाइदिए र त्यागको ज्योति बालिदिए । अथवा यिनले जन्मँदै ल्याएको राँको त्यस भेकमा अखण्ड बालिदिए । अनि यी २०५६ सालमा फागुन १ गते स्वर्गीय भए ।