नइ प्रकाशन Nai Prakashan
»  नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।   

कृष्णमान श्रेष्ठ

पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टदेखि प्रधानमन्त्री झलनाथ खनालसम्मले मनपराएका एक जना अर्का राष्ट्रिय व्यक्तित्व थिए- कृष्णमान श्रेष्ठ । कुनै बेला उनी नेपालको राजनीति, समाजसेवा र प्रशासनमा चम्केका थिए । त्यस बेला उनको योगदान नेपाली माटोले पाइरहृयो । वास्तवमा उनी केवल जनताको चासोमा आफ्नो मन, वचन र कर्म जोड्थे । त्यसैले कीर्तिनिधि विष्टले उनलाई इमान्दार, कर्तव्यनिष्ट र देशभक्तका रूपमा लेखेरै स्वीकारेका थिए भने झलनाथ खनालले भनेका थिए, "छात्र जीवनदेखि नै सक्रिय कृष्णमान श्रेष्ठले २००७ सालको राणा विरोधी क्रान्तिमा समेत भाग लिएका थिए । विश्वमा चलेको साम्यवादी आन्दोलनबाट प्रभावित भएर उनी कमरेडहरू पुष्पलाल, निर्मल लामा र शम्मुराम आदिको सर्म्पर्कमा पुगे । साथै उनले काठमाडौं नगर पालिकामा वामपन्थी समूहको नेतृत्व गरेका थिए ।"

जनकार्य गरेवापत श्रेष्ठलाई त्यति खेर चारैतिरबाट प्रशंसाका फूलहरू वर्षेका थिए । उनी तार्किक, बौद्धिक र स्पष्ट विचार भएका कारण उनको योगदानलाई प्रायः धेरैले स्वीकारेका थिए । उनको कामलाई त्यसरी स्वीकार्ने कोटिमा सुप्रसिद्ध राजनीतिज्ञ साहना प्रधानदेखि शरदसिंह भण्डारीसम्म थिए । अनि यसै क्रममा साहना प्रधानले लेखेकी पनि थिइन्- "नेपाली समाजमा कृष्णमान श्रेष्ठले धेरै दिए । उनी राजनीति, समाजसेवा र प्रशासन जताततै अविष्मरणीय भए ।"

शङ्करमान श्रेष्ठ र प्रेममायाका माइलो छोरा कृष्णमान श्रेष्ठको जन्म १९८८ साल कात्तिक १५ गते काठमाडौंमा भएको थियो । वाल्यकालदेखि नै उनी सेवा भावले ओतप्रोत थिए । सानो हुँदादेखि नै उनी न्यायवादी धारामा टमक्कै बाँधिएका थिए ।

श्रेष्ठले स्नातकसम्म त्रिचन्द्र कलेजमा नै पढे । अनि नागपुर विश्वविद्यालयबाट उनले एमए पास गरे । त्यसपछि उनी नेपालको राजनीतिमा प्रत्यक्ष लागे । त्यस बेला उनी बामन्थी कार्यकर्ताका रुपमा खुबै सक्रिय थिए ।

त्रिचन्द्र कलेजमा बीए अध्ययनकै क्रममा रत्नेश्वरीदेवीसँग श्रेष्ठको विवाह भएको थियो । यी दम्पतिबाट कोहिनूर, शिल्पी, चन्दन, खुश्बु र बाबा सरकार जन्मे । यी पाँचै जनाले स्नातकोत्तर शिक्षा हासिल गरे र यी सबै जना आआफ्ना व्यवसायमा चम्केका पनि छन् ।

कृष्णमान श्रेष्ठ सुनमा जन्मे, हीरामा जन्मे र जुवाहरतमा जन्मे । उनले जन्मँदै साहु हुन पाएका थिए । किनभने यिनका बुबा यसै विषयमा नेपालका नामी व्यापारी थिए । तर उनी चाहिं किशोरावस्थादेखि नै नेपाली जनताको जीवन स्तर देखेर भौंतारिएका थिए । अनि उनले सम्पत्तिलाई महत्व नदिएर जनउत्थानमा आफूलाई र्समर्पण गरिरहे । त्यसैकारण उनी परिवारवृत्तदेखि पनि कोप हुन थालेका थिए ।

श्रेष्ठ युवाकालको प्रारम्भदेखि नेपालबाट राणा शाहीको जरा घुने काममा लागेका थिए । उनका बुबा भने उनलाई राजनीतिमा नलागेर व्यापार व्यवसाय गर भन्थे । तर पनि उनले सम्पत्तिका लागि आफ्ना बुबासँग सम्झौता गरेनन् । उनले न्यायका लागि नै आफूलाई प्रस्तुत गरिरहे । त्यसैले त्यस घडी बाबुछोराको पनि ठ्याक मिलेको थिएन ।

२०१४ सालमा श्रेष्ठ वामपन्थी समुहका तर्फबाट उमेद्वार भएर काठमाडौं नगर पालिकाको उपप्रमुखमा चुनिएका थिए । त्यस समय प्रयागराजसिंह सुवाल प्रजातन्त्रवादी समुहका तर्फबाट प्रमुख भए तापनि श्रेष्ठ र सुवालको मन, वचन र कर्म मिल्थ्यो । त्यसैले यी दुवै भाइ भएर काठमाडौंलाई हराभरा र वैज्ञानिकीकरण गर्न लागे । त्यति बेला र्सवप्रथम यिनीहरुले र्सार्वजनिक जग्गा जति खोजेर त्यसलाई संरक्षण गरी पार्क बनाउने लहर ल्याएका थिए । उनीहरूकै कार्यकालदेखि काठमाडौं नगरभित्र घर बनाउँदा नक्सापास गर्ने पद्धतिको आरम्भ भएको थियो ।

श्रेष्ठ काठमाडौं नगर पालिकाको कार्यकारी प्रमुख पनि भए । उनी उपप्रमुख र कार्यकारी प्रमुख भएका बेला भारतका प्रधानमन्त्री पं.जवहारलाल नेहरु, चीनका प्रधानमन्त्री चाउ एनलाई, रुसका राष्ट्रपति मरिसोलोभ र बेलायतकी महारानी एलिजावेथ द्वितीया नेपालको राजकीय भ्रमणमा आएका थिए । त्यस बखत श्रेष्ठको व्यवस्थापकीय पक्ष देखेर राजा महेन्द्र एक छक्क, दुई छक्क र तीन छक्क परेका थिए । त्यसैले त्यसपछि राजाले तुरुन्तै उनलाई दौडाहाको अध्यक्ष बनाएर नेपालका विभिन्न ठाउँ खटाएका थिए । त्यस बेला श्रेष्ठ २८ वर्षा थिए ।

राजा महेन्द्रकै इच्छाले श्रेष्ठ अञ्चलाधीशमा पनि नियुक्त भए । त्यस समय पनि यिनले आफ्नो व्यक्तित्वमा पालिस लगाउने मौका पाएका थिए । धनका सुनभन्दा इमानका सुनमा त्यति बेला यिनको चर्चाले ठाउँ ढाकेको थियो । वास्तवमा उनी कामका भीम थिए । उनमा आर्थिक लोभ फिटिक्कै थिएन । कतिसम्म भने उनी गण्डकी, नारायणी, भेरी र राप्तीमा अञ्चलाधीश हुँदा पनि त्यसबापतबाट उनले पाँच पैसा पनि जोडेनन् । त्यस समयमा उनी जनउत्थानकै लागि एकोहोरो लागिरहे । त्यसैले उनले राजा महेन्द्रकै ठाडो हुकुमले गोरखा दक्षिणबाहु दोस्रा पाएका थिए ।

अञ्चलाधीश भएपछि उनले जनताको सुक्ख, दुक्ख बुझे, ठाउँठाउँको वस्तुस्थिति बुझे र विकासका कामहरू बुझे । अनि उनले जनताको पीरमर्का समाधान गर्ने बाटो खोजे, जनताको जीवनस्तर उकास्ने उपाय खोजे र साथसाथै विकासका लहरहरू पनि देखाउन थाले ।

श्रेष्ठ राष्ट्रिय र अन्तर्राष्ट्रय राजनीतिमा चासो राख्थे । उनी शान्तिपूर्ण सहअस्तित्वमा पनि जोड दिन्थे । उनी चाहे नेपाल सोभियत मैत्री सङ्घका केन्द्रीय अध्यक्ष भएका बेला होस् र चाहे भारतमा अध्ययन गरिरहेका बेला नेपाल भारत मैत्री सङ्घको पदाधिकारीमा बसेको बेला होस्, उनले सधैं नेपालकै हीतमा मात्रै बोले र नेपालकै विकासका लागि मात्रै लेखे ।

श्रेष्ठ लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान र नइ प्रकाशनका संस्थापक सदस्य थिए । उनी पाटन रोटरी क्लबमा पनि सक्रिय थिए । साथै उनैको अध्यक्षतामा ललितपुर हिरोसिमा सांस्कृतिक केन्द्रको स्थापना भएको थियो । उनले नेपाल हार्ट क्लबको उपाध्यक्ष भएर पनि काम गरे । त्यसै बेला उनैले ललितपुर हार्ट क्लिनिकलाई लाखौं मोल पर्ने अत्याधुनिक मेसिन उपलब्ध गराएका थिए ।

श्रेष्ठ पत्रकार पनि थिए । २०१६ सालमा उनी 'कोहिनुर' साप्ताहिकका सम्पादक बने । उनकै सम्पादकत्व र प्रकाशोकत्वमा कोहिनुरले समकालीन नेपाली पत्रकारिताको फाँटमा आफूलाई स्थापित गराएको थियो । उनी जुनजुन अञ्चलमा अञ्चलाधीश हुन्थे त्यस ठाउँहरूमा पनि पत्रपत्रिका, बुलेटिन सञ्चालन गर्न पनि उनको योगदान रहेको थियो । उनी किताव पढ्न सौखिन थिए । आफूले पढिसकेका किताव उनी स्थानीय पुस्तकालयमा उपहार दिन्थे ।

श्रेष्ठले नेपाल, जापान र रुसबाट विभिन्न सम्मान र अलङ्कारहरू पाएका थिए । उनी कामबाटै धेरैका आफन्त भएका थिए । सादा जीवनयापनमा नै उनले एउटा ठोस जिन्दगानी भुक्तान गरे । बाँचुन्जेल उनले कसैलाई बिजाएनन् । उत्तम कुँवरदेखि नरेन्द्रराज प्रर्साईसम्मका उनी प्रेरक, आदरणीय र श्रद्धेय थिए । वास्तवमा मान्छेलाई मानवताको सक्कली पाठ सिकाउने उनी एउटा असल गरुबाबु नै थिए ।

श्रेष्ठ हृदयघातका कारण २०६१ साल मङ्सिर १० गते काठमाडौंमा स्वर्गीय भए ।