नइ प्रकाशन Nai Prakashan
»  नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।   

बालमुकुन्ददेव पाण्डे Bal Mukundadev Pandey

दक्षदेव पाण्डे र गङ्गादेवी पाण्डेका छोरा बालमुकुन्ददेव पाण्डेको जन्म १९९३ साल कात्तिक ४ गते काठमाडौंको फसिकेवमा भएको थियो । उनको जन्म कुण्डलीको नाउँ नरेन्द्रदेव पाण्डे थियो । कखरा पढ्न रानीपोखरी संस्कृत पाठशालामा भर्ना भएका बेला उनको नाउँ कान्छा पाण्डे लेखाइएको थियो।साथीहरूले कान्छा पाण्डेलाई गिज्याउन थालेपछि उनी आफैले आफ्नो नाउँ बालमुकुन्ददेव पाण्डे लेखाएका थिए । त्यतिन्जेलमा उनी जुद्धोदय पब्लिक हाई स्कुलमा पुगिसकेका थिए ।
बालमुकुन्ददेव पाण्डेको पूर्खाको घर नुवाकोटमा पनि भएकाले उनको बाल्यकाल काठमाडौं र नुवाकोट ओहोरदोहोर गरेर नै बितेको थियो । उनको बाल्यकालमा नै उनका बुबाको निधन भयो । त्यसपछि एउटा तीखो चट्याङ बज्रेर उनको भविष्यको जीवनयात्रालाई तर्साएकोथियो । वास्तवमा उनका बुबाको निधनपछि उनले आफ्नो स्कुलमा आवाश्यक शुल्क तिर्न पनि सकेनन् र त्यही कारणले उनी अपमानित शैलीबाट स्कुलबाट लखेटिएका थिए । त्यसपछि उनी शाम्भदेव पाण्डेको दौराको फेर समाएर दरबार स्कुलमा भर्ना भए । किनभने त्यस स्कुलमा निशुल्क पढ्ने व्यवस्था थियो । घरायसी कारणले उनी त्यसपछि फेरी सीताराम हाइस्कुलमा पुगे । यता र उती लरखरिंदा उनी एसएलसी परीक्षामा फेल भए अर्को वर्षपास गरेपछि उनी त्रिचन्द्र कलेज भर्ना भए । त्यसपछि पनि उनी अँध्यारो परिस्थितिसँग जुद्धै हिंडे । आर्थिक र घरायसी रनाहामा उनले सो कलेजबाट पनि हात धुनु पर्यो । अनि त्यसपछि उनी नेशनल कलेज (हालको शङ्करदेव क्याम्पस) पुगे । त्यहाँ पुगेपछि उनले शङ्करदेव पन्तको आड पाए । पन्तकै संरक्षणका कारण त्यहीँबाट उनले आइए र बीए पास गरे ।
बालमुकुन्ददेव पाण्डेको आफ्नै छिमेककी युवदत्त पाण्डेकी छोरी इन्दिरा पाण्डेसँग प्रेम विवाह भयो । त्यस बेला उनी बीस वर्षका थिए । यी दम्पतिले दुईछोरा विकासदेव पाण्डे र विज्ञानदेव पाण्डे अनि तीन छोरी वीना न्यौपाने, विन्दू पन्त र डा.विपना आचार्यलाई पनि जन्माए ।
बालमुकुन्ददेव पाण्डेका बाजे धनी थिए । उनीहरु सम्पत्तिमा लडीबुडी खेल्ने अवस्थाका भए तापनि छोराछोरीको लापरबाहीका कारण जोडिनाले उनीहरू तन्नम हुन थाले । त्यसैले उनी बाल्यकालदेखि नै आर्थिक रुपमा गरीबीकै रेखामुनी उभ्भिए । त्यसैको परिणतिले उनी बाँच्नका लागि अठार वर्षो उमेरमा नै पत्रकारिताको पेशामा आबद्ध भए । तर त्यस पेशाबाट पनि जीवन धान्न नसकेपछि उनी खाद्यकृषि मन्त्रालयमा पुगे र त्यहाँ उनी सिनियर ल्कर्कमा भर्ना भए । घरायसी कारणले गर्दा उनी त्यही जागिरमा पनि थामिन सकेनन् । वर्षदनमा नै उनको त्यो जागीर समाप्त पनि भयो । त्यसपछि उनको आर्थिक अवस्था फेरि कहालीलाग्दो हुन थाल्यो । बाँच्ने अभिप्राय बोकेर उनी फेरि पत्रकारितामा नै लागे र उनले समाज दैनिकमा प्रुफ रिडरको काम पनि पाए । नयाँ समाजमा सो काम गर्न थालेपछि उनले पिटीआई अङ्ग्रेजीबाट नेपालीमा अनुवाद गर्न पनि थाले । उनी एकोहोरा पत्रकारितामा पेशामा नै क्रियाशील भैरहे ।
बालमुकुन्ददेव पाण्डेले सुरुका दिनमा योगेन्द्र अर्याल र रामदेव भट्टराईसँग मिलेर पत्रकारितामा काम गरे । केही समयपछि रुपरेखा उनको परिचय पत्रिका बन्यो । रुपरेखाको सम्पादकमण्डलमा रहेर काम गर्दागर्दै उनी त्यस पत्रिकाको प्रकाशक पनि भए । पछि उनैको सम्पादन र प्रकाशनमा रुपरेखा प्रकाशित हुन थाल्यो । नेपाली साहित्यको इतिहासमा रुपरेखाको उँचाई निकै माथिल्लो कोटिको पनि मानियो । रुपरेखाका माध्यमबाट बादेपाले नेपाली साहित्यका नवप्रतिभाहरुलाई प्रोत्साहित गर्ने महत्वपूर्णकाम गरेका थिए । उत्तम कुँवर र बालमुकुन्ददेव पाण्डेको सहकार्यका कारण त्यसताका यी दुईभाइ पनि निक्कै नै प्रतिष्ठित थिए । त्यही विंडो तानिएर पाण्डे नयाँ समाजको पनि प्रधान सम्पादक भए ।
बादेपालले पत्रकारिता पेशालाई क्रमशः गौरव मान्न थाले । वास्तवमा मन, वचन र कर्म जोडेर उनी पत्रकारितामा नै समर्पित भए । अन्ततः पत्रकारिता भनेको बालमुकुन्ददेव पाण्डे अथवा बालमुकुन्ददेव पाण्ड भनेको पत्रकारिता हो भन्ने एउटा सन्देश जनमाझसम्म पुग्यो । परिणमस्वरुप पत्रकारिताले नै उनलाई दुईदुईपटकसम्म गोरखापत्र दैनिकको प्रधानसम्पादकको पदमा पनि पुर्यायो । वास्तवमा त्यस पदमा पुग्न उनको सपना पनि थियो । त्यसपछि भने उनले आफुलाई सफल पत्रकार नै भएको ठहर गरे । साथै गोरखापत्रको प्रधानसम्पादक भएपछि यिनले पत्रकारिता जगत्लाई झनै मर्यादित र सम्मानित पारेका थिए । अत्यन्त नर्भिक, स्पष्ट र इमान्दार प्रकृतिका बालमुकुन्ददेव पाण्डेको नाउँ पत्रकारिताको इतिहासमा नै प्रेरणादायी, उदाहरणीय र प्रशंसनीय भयो ।
बादेपाले पुष्करशमशेर, शङ्करदेव पन्त र भूतका भिनाजु अर्थात् वासुदेव लुइँटेलको प्रेरणले जीवन डोर्याइरहे । उनी आफ्नो गन्तब्यमा कसैसँगै डराएनन् । उनी जति हिंडे स्वतन्त्र, स्वाभिमानी र स्वच्छ भएर नै हिंडे । उनी कसैको चाकरी, चाप्लुसी र चङ्गुलको छेउसम्म पनि पुगेनन् ।
बादेपा नयाँ समाजमा कार्यरत रहँदा त्यहाँ उनको श्यामप्रसाद शर्मासँग भेट भयो । शर्मा पनि उनका मार्गदर्शक बने । शर्माकै प्रेरणाले उनी साहित्यमा पनि लागे । शर्मा कै निर्देशनमा पाण्डेले २३ वर्षो उमेरमा नै पत्रिकामा सम्पादकीय लेखेका थिए । उनले २५ वर्षो उमेरमा रुपरेखामा पुस्तक समीक्षा गरेर साहित्याकाशमा प्रवेश गरे । अनि उनले बराबर भनिरहे '' मैले श्यामप्रसाद शर्मालाई नभेटेको भए शायद म प्रुफरिडरबाटै रिटायर्ड हुन्थें ।''
बादेपाले नेपाली भाषासाहित्यमा घटोत्कच, बलमकनद, वीरोचन, फाँइफुटि्टराज, हात्तीगौडें पुरेत, देव र बादेपा आदि नाँउबाट पनि कलम चलाए । यसमध्ये बादेपा नाउँमा उनी र्सवाधिक लोकप्रिय भए ।
बादेपा राष्ट्रवादी थिए । उनी राजसंस्थाका अनन्य भक्त थिए तर राजदरबारदेखि सिंहदरबारसम्म भएका विकृतिको भण्डाफोर गर्न पनि पछि हट्दैन थिए । उनका लागि पद, प्रतिष्ठा र सम्पत्ति भन्दा इमान ठूलो मानिन्थ्यो । उनी कर्ममा विश्वास राख्ने एउटा जागरुक योद्धा थिए ।
बादेपा अठार वर्षेखि नै समाजसेवामा पनि लागेका थिए । त्यस बेला साथीहरुसँग मिलेर यिनले फसिकेवमा राष्ट्रिय पुस्तकालयको समेत स्थापना गरे । सुरुमा त्यही पुस्तकालयबाट नै रुपरेखा पत्रिका प्रकाशित भएको थियो ।
बादेपा गोरखादक्षिण बाहु दोस्रोबाट विभूषित भए भने विभिन्न अलङ्कारबाट पनि अलङ्कृत भए । उनी भैरव अर्याल हास्यव्यङ्ग्य पुरस्कारदेखि सिक्किम हास्यव्यङग्य सम्मेलन पुरस्कारबाट समेत पुरस्कृत भए ।
बादेपाले नेपालका साठीवटा जिल्लाको भ्रमण गरे । राजा वीरेन्द्रको विदेश भ्रमणताका उनी पनि धेरै ठाँउ गए । उनले पाँच महाद्वीपका तीस राष्ट्रको भ्रमण गरे ।
बालमुकुन्ददेव पाण्डेद्वारा लिखित 'दमाह' (२०२४) र 'मेटिन नसकेका डोबहरू' (२०६२) प्रकाशित छन् । उनको निधनपछि उनका परिवारले बादेपा स्मृति प्रतिष्ठान पनि स्थापना गरे तर त्यो नियमित रुपमाचाहिं धानिन सकेन ।
बादेपा जीवनको उत्तर्रार्धमा 'राजधानी' दैनिकको प्रधान समपादकमा कार्यरत थिए । पत्रकारितामा समर्पित भएकै बेला फेरि उनी वीरेन्द्र सैनिक अस्पताल छाउनीमामा भर्ना भए । त्यति बेला उनलाई मधुमेह, दम र उच्च रक्तचापले लखतरान पारेको थियो । अन्ततः त्यही व्यथाले नै उनको भौतिक चोला सकियो । नेपाली परिवेशमा एउटा स्वच्छ, निष्पक्ष र निर्भीक पत्रकारिताका महारथी बालमुकुन्ददेव पाण्डेको निधन भएको दिन २०५९ साल असार ५ गते थियो ।