नइ प्रकाशन Nai Prakashan
»  नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।   

दयावीरसिंह कन्साकार - Dayabir Singh Kansakar

दयावीरसिहं कन्सारकार भन्नु नेपालको समाजसेवाको एउटा टड्कारो पाटो हो, जुन पाटो समाएपछि त्यसयात्राको स्पष्ट अवलोकन गर्न सकिन्छ । हुँदाहुँदै यिनको नाउँ कस्तो भइदियो भने यिनको नाम लिँदा पनि कति मान्छे आफू ठूलो भएको अनुभव गर्छन् । वास्तवमा समाजसेवामा लाग्ने मान्छेका लागि यी एउटा राजमार्ग थिए । सेवाको सिद्धान्तमात्र पढ्नेका लागि त उनी समाजका गुरुबाबु थिए । वास्तवमा उनी समाजसेवाका फाँटका चौतारी हुन् । कैयौँ अनाथ, असाहय र निर्धाले यही चौतारीमा अझै थकाइ मार्ने गरेका छन् ।
'गाँसबासको ठेगान नभएका व्यक्तिहरूको सेवाभन्दा दीनदुःखी, रोगीहरूको कुनै पनि प्रकारले सेवा गर्नु सबैभन्दा ठूलो समाजसेवा' ठान्ने कंसाकार थिए । उनी सक्कली दुःखीहरूका अभिभावक थिए, असहायहरूका चोखो संरक्षक थिए र समाजसेवाका क्षेत्रमा भरपर्दो र सुकिलो नाउँ थिए ।
नेपालको सामाजिक जागरणको प्रसङ्ग कोटयाउँदा कंसाकार भनिने एउटा ज्यूँदो व्यक्तित्वको नाउँ उल्लेख हुन्छ र समाजसेवाका प्रत्येक पाटामा कंसाकारका नामले छुन्छ । वजास्तवमा नै दयावीरसिंह कंसाकार समाजसेवाको उपमाले जोडिएको नाउँ हो । स्वयं नाउँ एउटा विशाल काम हो । यो नाउँ नै एउटा सग्लो इतिहास हो । माओ त्सेतुङका शब्दमा 'नयाँ आलोक दिनलाई' दयावीरसिंह कंसाकार नेपालमा जन्मेका हुन् । यी सम्वत् १९६८ वैशाख २२ गते काठमाडौँमा जन्मेका थिए । यिनको जन्मथलो केलटोलको मासंगल्ली हो । यी एउटा छिँडीमा जन्मे, बाँच्न जन्मे र बचाउन जन्मे । यी अरूहरूका लागि नै जन्मे । वास्तवमा यी शुद्ध सेवा गर्न नै जन्मे ।
रगत नपाएर मर्नु-बाँच्नुको दोसाँधमा एउटा बिरामी छटपटाएको बेला २००० साल थियो । त्यस बेला कंसाकार ३२ वर्षा थिए । त्यो बिरामी देख्ता यिनको मन दुख्यो । हत्तनपत्त यिनले विरामीलाई आफ्नो रगत दिए र जति चाहियो त्यति दिए । उनले बिरामी पनि बचाए । यो कुरा राजा महेन्द्रले सुने र खुशी भए । अनि उनले पनि त्यति बेलै रक्तदान गरे ।
कंसाकारले वर्षदिनपछि फेरि एउटा हैजा लागेको बिरामी भेटे, घर ल्याए र उपचार गरे । ती विमार पिनि बाँचे । यी यस्तैयस्ता मान्छे सोर्थे ।
दयावीरसिंह कंसाकार समाजसेवामा सधैँ उघ्रिने प्रवेशद्वार थिए । बाँचुन्जेल यिनमा एक इन्च पनि स्वार्थ भेटिएन ।
२००४ साल असोज १० गते एउटा उज्यालो दिन थियो । नेपालमा समाजसेवाको बिरुवा रोपेको अर्को फराकिलो दिन थियो । त्यस दिन परोपकारको जग हाल्ने यिनै कंसाकार थिए । परोपकार संस्थाका प्रमुख संस्थापक यिनै त्यागी मानव थिए । जसको नाम लिँदा श्रद्धा र विश्वासले हामी फतक्कै गल्छौँ ।
कंसाकार न्यायवादी दृष्टिकोणका अगुवा थिए । २० औँ वर्षघि एकपल्ट एउटा घरमा ठूलो झैँझगडा भइरहेको थियो । मारकाट हुँदै गरेको झगडामा यी झट्टै पसे र झैँझगडा छुट्टयाइदिए । यिनले दुवै पक्षलाई मान्य हुने निसाफ दिए । त्यस न्यायमा त्यहाँ एउटी अविवाहित केटीलाई धेरै खुसी लागेछ । ती कर्मशोभा थिइन् । त्यसै घडी तिनले कंसाकारलाई पाँच सय रुपियाँ पुरस्कार दिइन् । सो रकम कंसाकारले लिए र परोपकार संस्थालाई चन्दा दिए । उनले त्यहाँ चन्दादाताको नाम सुश्री कर्मशोभा लेखिदिए । कर्मशोभाले पछि यो कुरा थाहा पाइन् र चकित भइन् र उनी फेरि खुसी भइन् । त्यसपछि यिनले यिनको नामको जग्गा सबै परोपकार संस्थालाई दान दिइन् । करोडौँ रकम पर्ने उक्त घर अहिले परोपकार संस्थाका नाममा काठमाडौँको असनमा छ ।
कंसाकार समाजसेवीहरूका प्रेरणाका स्रोत थिए । यिनले समाजसेवीको उचित मूल्याङ्कन हुनुपर्ने कुरामा सधैं जोड दिए । उनी भन्थे समाजसेवीको उचित कदर गर्न जानिएन भने राष्ट्रकै लागि बिडम्बना हुन सक्छ । यी साँचो कुरा भन्थे र बरु थोरै भन्थे । तर यिनको कुरा महँगो हुन्थ्यो । अथवा अमूल्य हुन्थ्यो । कैयौँले बोल्ने एक सेरको यिनको एक तोला मात्र हुन्थ्यो । तर पनि यिनकै कुरा सुनभन्दा गह्रुङ्गो हुन्थ्यो । किनभने यिनको बोलाइमा पक्ष हुँदैन थियो, न्याय हुन्थ्यो । अथवा हुनुपर्ने कुरा नै हुन्थ्यो ।
कंसाकारले घरमै पढे र दुक्खसँग लडे । जति गर्ने इच्छा थियो उनले त्यति गरे । उनले स्कूल खोले- परोपकार माध्यमिक विद्यालय । अस्पताल खोले- प्रसूतिगृह । अनाथालय खोले र बालग्राम पनि खोले । स्वदेशी कपडाको संरक्षणका लागि सानो स्केलमा भए पनि घरेलु तान राखे ।
कंसाकारले नेपालको सामाजिक जागरणका लागि मिठा र अविस्मरणी पाइला बढाएका थिए । उनले यसैबाट कैयौँ अनुभव, सीप र जाँगर देखाए । यिनले आफ्नो देश घुमे र विदेश डुले । तर सामाजिक सेवाकै दृष्टिकोणबाट यी घुम्थे र डुल्थे ।
कंसाकार समाजसेवाका ज्यादै भरपर्दा महापुरुष मानिए । समाजसेवाका लागि यी शब्दकोश बने ।
कंसाकार सानैदेखि त्यागी थिए । त्यागमै यी बूढा भए यिनले धेरैलाई दिए । अन जति चाहिन्थ्यो यिनले त्यति दिए भएजति दिए । प्रा. राजनारायण प्रधानको भाकामा भन्दा, "अँध्यारो र अप्ठयारो सडकमा झलमल बल्ने बत्तीलाई म दयावीरसिंह कंसाकार भन्छु जो कक्रक्क परेको त्यस्तो बेलामा नै नेपाल र नेपालीको सेवा गर्न उठेका थिए "
कंसाकारलाई जवाहरलाल नेहरूले चिनेका थिए । यिनको कामधन्दा क्रुश्चेबले बुझेका थिए । यिनलाई चाउएन लाईले पनि मन पराएका थिए । यिनलाई इन्दिरा गान्धीले पनि मन पराएकी थिइन् । यिनलाई राजा महेन्द्रले त धूमधाम पत्याएका थिए। देशदेशान्तरको सुप्रसिद्धि बटुलेर उनी २०५७ सालमा स्वर्गीय भए।