नइ प्रकाशन Nai Prakashan
»  नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।   

सी.के. प्रसाई (भरतबाबू) - C.K. Prasai

लप्टन देवीप्रसाद प्रसाई तथा देवकुमारी प्रसाईका सुपुत्रका रुपमा १९८८ साल फागुन ७ गते छत्रवानकेशरी अर्थात् सीके प्रसाईको जन्म भएको थियो। प्रसाईको प्रारम्भिक शिक्षा आफ्ना दाजु खड्गवानकेशरी अर्थात् खनूपरुदे 'रामबाबू'को संरक्षणमा काठमाडौंमा भएको थियो । उनले माद्यमिक र उच्च शिक्षाचाहिं वनारसमा पढे। त्यही क्रममा उनले २०१२ सालमा वनारस हिन्दू विश्वविद्यालयबाट चौथो स्थानमा एम.कम.को शैक्षिक उपाधि प्राप्त गरे। त्यसपछि उनले भारतको बरोधाबाट बैकिङ तालीम पनि लिए ।
सीके प्रसाईले २०१४ सालमा झापाको अनारमनी विर्ताबजारमा आधुनिक शैलीको घर बनाए । त्यस घरमा उनले हात्ती, घोडा, हरिण र चराचुरुङी पालेका थिए र जिप पनि राखेका थिए । उनी पढाइलेखाइका पनि सौखिन थिए। त्यस समय उनी भारतको नक्सालबारी र गलगलियाबाट नियमित रुपमा हप्ताको दुई पल्ट नयाँनयाँ किताव र पत्रिका झिकाएर पढ्थे । त्यस कामका लागि उनले एक जनाकारिन्दा र एउटा घोडा राखेका थिए । त्यसै बीच उनैको पहलमा उनकै घरको सिमानामा स्कुल खोलियो र सीके प्रसाईले नै त्यस स्कुलको नाउँ 'महेन्द्ररत्न विद्यालय' राखे । त्यतिन्जेलसम्म पनि उनी राजनीतिमा सरिक थिएनन् ।
सीके प्रसाई २०१६ सालमा नेपाली काङ्ग्रेसमा प्रवेश भए । २०१७ सालपुस १ गते आएपछि उनी राजा महेन्द्रको कदमको विरोध गर्दै भारतको नक्सालबारी गए । त्यसपछि उनका हातमा नेपाल सरकारबाट एउटा पूर्जी गयो 'तपाईले नेपाल आउनु नत्र तपाईको धनसम्पति सरकारले जिम्मा लिन्छ ।' तर उनी फर्केनन् रसरकारले उनको सम्पति सर्वस्व गर्‍यो ।
२०१८ साल पुस १ गते सुवर्णशमशेरको नेतृत्वमा नेपालमा सशस्त्रक्रान्तिको प्रारम्भ भयो तर २०१९ सालमा भारत र चीनको युद्ध सुरुभएपछि भारतले काङ्ग्रेसलाई संघर्ष रोक्न आह्वान गर्‍यो । त्यस घडी सीके प्रसाई नक्सालबारी नै बसेका थिए । त्यसै बेला उनलाई त्यहीं छेउको उत्तर वङ्गाल विश्वविद्यालयको प्राध्यापक बन्न स्थानीय बुद्धिजीवीको अनुरोध आयो । अनि उनी एम.कम.का विद्यार्थीको प्राध्यापनमा लागे। त्यहाँ उनले पाँच वर्ष जति पढाए ।
सीके प्रसाईको बोलीचाली नरम थियो । उनी दिल खोलेर बोल्थे, ठट्टापनि गर्थे र दुःख, सुखका कुरा पनि गर्थे । उनी भावुक थिए । त्यसैले कहिलेकाहीँ दुःखकोकुरा निक्लँदा उनी भावनामा डुबेर रुने पनि गर्थे। उनी रिसाउँदा पनि खपिनसक्नु हुन्थ्यो ।
सीके प्रसाई खानापिनामा मासुका सौखिन थिए । उनी मासु नभएका दिन भान्सामा जान आनाकानी गर्थे । तर उनी सादा ठाउँमा सुत्थे, सादा घरमा बस्थे रसादा लुगा लगाउँथे । अनि यी सबै कुरालाई छाता ओढाएर उनी भन्थे- 'ज्ञानुले भारतको बरोधाको गान्धी स्कुलमा पढिन्; यो सबै उनैको प्रभावले भएको हो ।'
२०२४ सालमा सीके प्रसाईको विहे कप्तान गञ्जबहादुर कार्कीकी छोरी गिरिराजकुमारीसँग भयो । त्यसपछि मात्र यिनको घरबार सम्हालियो । नत्र घरव्यबहारमा यी साधुस्वभावका थिए । कतिसम्म भने कुनै बेला यिनको दुई सय बिघा खेतबाट दुई हजार मन धान बेचिन्थ्यो । तर पनि दशैंपछि यिनलाई घर धान्न धौधौ हुन्थ्यो । यिनको लापरबाहीका कारण यिनका कारबारीले यिनलाई थाङ्नामा सुताउँथे ।
सीके प्रसाई २०२८ सालमा जेल परे र उनलाई काठमाडौँमा ल्याइयो। केही समयपछि उनी जेलमुक्त भए र उनलाई उपत्यकामा नजरबन्द गराइयो । त्यसै बेलाउनले 'राष्ट्रपुकार' साप्ताहिकमा 'श्रीनिष्पक्ष' नामले लेख छपाए । उनले सो साप्ताहिकमा नियमित तेह्र वर्ष लेखे । राजनीति र समाजवादबारे उनले केही पुस्तक पनि लेखे। लेखनमा पनि उनको रुचि थियो । खास गरेर उनी पत्र लेखनमा खुबै चाख दिन्थे ।
सीके प्रसाई जुनसुकै राजनीतिक विचारका धनीलाई पनि गुराँसको माला पहिराइदिन्थे । तर उनका आदर्श पुरुष विश्वेश्वरप्रसाद कोइराला थिए । उनी वारंवार बीपी कोइरालाको बयान गर्थे । पञ्चायती व्यवस्थामा पनि उनले आफ्नो घरमा कोइरालाको फोटो टाँसे । तर २०४६ सालमा बहुदल आएपछि मात्र थुप्रै काङ्ग्रेसले घरघरमा बीपी कोइरालाको फोटो टाँस्न थालेका थिए ।
सीके प्रसाई वीपी कोइरालाका सारै आज्ञाकारी थिए । झापाको उनका घरमा गएका बेला कोइराला कुर्सीमा बस्थे र प्रसाईचाहिं कोइराला बसेको कुर्सीको ठीक अगाडीभूइँमा पलेटी कस्थे । कोइराला घरिघरि झापा गई बस्थे । त्यहाँ पुगेपछि उनी प्राय : सीके प्रसाई या उनका दाजु रामबाबूका घरमा मात्रै बस्थे ।  
२०३६ सालको राष्ट्रिय जनमत सङ्ग्रहताका पनि बीपी कोइराला झापा गएका थिए । झापामा कोइरालाको स्टेशन खनुपरुदे (रामबाबु) र सीके प्रसाई (भरतबाबु)को घर नै हुन्थ्यो । त्यस बेला चाहिं कोइराला सीके प्रसाईका घरमा बसेका थिए । त्यति खेरको एउटा सानो बेहोरा एक दिन सीके प्रसाईले (नरेन्द्रराज प्रसाईलाई)भनेका थिए : "बीपी कोइराला सधैझैं भोलिपल्ट पनिबिहानै पाँच बजे ओछ्यानबाट उठे । अनि कोइरालाले सीके प्रसाईकी धर्मपत्नी गिरिराजकुमारीलाई आफ्नोछेउमा बोलाए । त्यति खेर कोइरालालेआफ्नो सुटकेश खोल्न उनलाई अनुरोध गरे । गिरिराजकुमारीले बीपी कोइरालाको सुटकेशखोलिन् । त्यसपछि कोइराला बोले -'त्यो बट्टा निकाल त ज्ञानु !' अनि त्यो बट्टालाई हातमा लिँदै कोइराला बोले- 'यो के हो थाहा छ ज्ञानु ? यो दारीकाट्ने मेसिन हो । यो मेसिन राजा वीरेन्द्रले हालै विदेशबाटमलाई उपहार ल्याइबक्सेको रहेछ । यो मेशिन रानी ऐश्वर्यले 'सरकारबाट यहाँलाईबक्सेको' भनेर मलाई बक्सेको हो ।" त्यति बेलाको कोइरालाको खुशीको सीके प्रसाईले सधैं व्याख्या गरिरहे ।
सीके प्रसाईका लागि वीपी कोइरालाले बोलेको कुरा कानुन हुन्थ्यो ।त्यही धारमा प्रसाईले धेरै लेखे । प्रसाईको बोल्ने क्षमता र कलमको निब बराबर थियो । उनी चिन्तनका कुबेर थिए भने नेपाली काङ्ग्रेस पार्टीका चाहिँबौद्धिक जगतगुरु अथवा भनौं शङ्कराचार्य नै थिए । अनि उनी सिद्धान्तका लखपति थिए  थुप्रै काङ्ग्रेस पञ्चायतमा छिरे । तर प्रसाई आफ्नो सिद्धान्त जोगाउन अटल रहे, भूमिगत भए, जेल गए र प्रवास लागे । उनले आफुले पालेको हात्तीघोडा,  मोटर, घर, जग्गा र रुपियाँपैसा पनि सरकारलाई हरण गराए । २०१७ सालमा आफ्नो सर्वस्व हुँदा पनि उनले आफ्नो सिद्धान्तलाई शिरमा नै राखिरहे ।
सीके प्रसाई  युरिकएसिडका कारण दुइटै खुट्टा र दुइटै हात नचलेर थला परे । उनी आफू अस्वस्थ भएपछि भनेका थिए 'मदन भण्डारीको दुर्घटना भएकै दिनदेखि मेरा हातखुट्टा चल्न बन्द भए ।' मदन भण्डारीको विषयमा सीके प्रसाईले थुप्रैलाई थुप्रै पाठ पनि पढाए । वास्तवमा सीके प्रसाई राष्ट्रवादी दृष्टिकोणको गीत गाउने सक्षम गायक पनि थिए ।
सीके प्रसाई २०४६ सालदेखि क्रमशः थला परेर हिंड्न सक्तैन थिए । त्यसैले उनलाई भेट्न उनको डेरा ललितपुरको कुमारीपाटीमा मान्छेहरू पुग्थे । खास गरेर कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएको समयमा एकैदिन पनि सीके प्रसाईलाई एक्लो भेट्न सकिँदैनथ्यो । किनभने त्यस घडी प्रधानमन्त्री भट्टराई रगणेशमान सिंह पनि एउटै मोटर चढेर हरेक शनिबार प्रायः दिउँसो दुई बजे उनको डेरा पुग्थे । त्यसवेला उनको डेरामा मान्छेको मेला लाग्थ्यो । तर गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि ती सबै चाकरीदार एक्कैचोटि हराए । त्यसै समयमा नै सीके प्रसाईले भने - 'नेपालीको प्रवृत्ति नै नाटकीयछ । यो नेपाल कसरी सप्रेला र !'
सीके प्रसाई र गिरिजाप्रसाद कोइरालाको सम्बन्ध सारै राम्रो थियो । २०३६ सालपछि कोइरालासँग उनको मनमुटाव सुरु भएको थियो । त्यस बेला कोइरालाले झापामा गएर सीके प्रसाईलाई भनेका थिए 'पञ्चहरूलाई पनि काङ्ग्रेसको सदस्य बनाउँदै लानुपर्छ ।तर प्रसाईले कोइरालाको कुरामा प्रतिकार गरेर झापा जिल्लाको काङ्ग्रेस सभापतिको पदबाट नै राजिनामा दिए ।
सीके प्रसाईले गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई तपस्वी  नेता मान्थे । एक पटक प्रसाईले गिरिजाप्रसाद कोइरालाको भण्डाफोर गरेर आफ्ना नेता भट्टराईलाई एउटा नितान्त गोप्य चिठी लेखे । तर भट्टराईले भने त्यो चिठी सरासर लगेर गिरिजाप्रसादलाई नै पढ्न दिए । त्यसपछि कोइराला सीके प्रसाईसँग आगो भए र उनले जीवनभर सीकेलाई खेदि मात्र रहे ।विधिको विडम्बना सीके प्रसाईको निधन हुने बित्तिकै कोइरालाले सीके प्रसाईकी अर्धाङ्नी गिरिराजकुमारीलाई टेलिफोन गरेर भने 'म नआई सीकेको लास नउठाउनु।' अनि प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भोलिपल्ट खनूपरुदे रामबाबूलाई लिएर झापा पुगे। त्यस घडी पूर्व प्रधानमन्त्री भट्टराई भने झापा जान सकेनन् ।
सीके प्रसाई जस्ता राजनीतिका प्रखर चिन्तक २०५० साल फागुन ८ गतेस्वर्गीय भए । उनको स्वर्गारोहण नेपाली काङ्ग्रेसभित्रै मात्र पक्षाघात भएको होइन नेपालराष्ट्रका लागि नै ठूलो क्षति थियो ।
सीके प्रसाईको निधनमा नेपाली काङ्ग्रेसले ठूलो र निक्कै ठूलो शोक मनायो । काङ्ग्रेसले मात्र होइन विभिन्न बौद्धिक व्यक्तित्वहरूले पनि उनको निधनमा गहिरो दुःख माने । तर उनलाई बाँचुन्जेल उनकै नेता र कार्यकर्ताले डाहा, ईर्ष्या र छल मात्र गरे । धेरैले उनको मन दुखाए, अपमान गरे र पीडा दिए । अन्ततः भरतराज पन्तको कविता बोलेझैँ निष्कर्ष निस्क्यो : 
फूलमाला सजाएर सिँगारे पनि के भयो
लाठी मुङ्ग्री बजारेर बिगारे पनि के भयो
पञ्चामृत चढाएर फुर्क्याए पनि केभयो !